रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ स्थित कास्थेम माध्यमिक विद्यालयमा चार दिने निःशुल्क स्वास्थ्य शिविर शनिबारबाट सुरु भएको छ।
आगामी मंगलबारसम्म सञ्चालन हुने शिविर उमाकुण्ड गाउँपालिकासँगको समन्वय तथा सहजीकरणमा कादुरी एग्रीकल्चरल एड एसोसिएसन (बीटिस गोर्खाज नेपाल), पोखरा–१६ कास्कीको आयोजनामा गरिएको हो।
आयोजकका अनुसार शिविर बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ। सेवाग्राहीका लागि दर्ता समय बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ।
शिविरमा स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा जाँच, मोतीबिन्दुको शल्यक्रिया, दाँतको उपचार तथा आवश्यक परे दाँत निकाल्ने सेवा उपलब्ध गराइने छ। साथै अन्य सामान्य स्वास्थ्य परीक्षण, आवश्यक अनुसार रगत, दिशा–पिसाब परीक्षण, मुटुको इ.सी.जी, भिडियो एक्स–रे परीक्षण तथा चिकित्सकको सल्लाहअनुसार निःशुल्क औषधि वितरण गरिने आयोजकले जनाएको छ।
शल्यक्रिया गरिएका बिरामीले शल्यक्रियापछिको खाने–बस्ने व्यवस्था आफैं गर्नुपर्ने बताइएको छ। शिविरमार्फत कादुरी संस्थाद्वारा सञ्चालन हुने विभिन्न निःशुल्क सीपमूलक तालिमसम्बन्धी परामर्श र छनोटको अवसर समेत प्रदान गरिने जनाइएको छ। स्थानीय नागरिकलाई सहज र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरबाट दुर्गम क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ।
