काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता प्रदान गरेको छ।
गत २७–३० पुससम्म भृकुटीमण्डपमा सम्पन्न पार्टीको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापतिमा चयन गरेको थियो। महाधिवेशनपछि थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो भने शेरबहादुर देउवा पक्षले उक्त निवेदनविरुद्ध आपत्ति दर्ता गराएको थियो।
उक्त विवादबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सगुनशम्शेर जबरा र जानकी तुलाधर तथा आयोगका सचिवबीच छलफल भएको थियो। छलफलपछि आयोगले थापा नेतृत्वलाई वैधानिक मान्यता दिने निर्णय गरेको हो।
निर्णयसँगै नेपाली कांग्रेसको आधिकारिक चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा थापा पक्षलाई प्राप्त भएको छ। यसपछि देउवा समूह पार्टीको नाम र चुनाव चिह्नविहीन बनेको छ। आयोगले सो पक्षलाई नयाँ दलको नाम र चुनाव चिह्न रोज्न समय दिने जनाएको छ।
यता आयोगको निर्णयपछि असन्तुष्ट देउवा समूहले विरोध जनाउँदै नाराबाजी गरेका छन्। राजनीतिक वृत्तमा यो निर्णयले कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवादलाई निर्णायक मोडमा पु¥याएको टिप्पणी गरिएको छ।
