सीपले बदल्यो जीवन, मोटरसाइकल वर्कसपले गाउँमै ल्यायो आम्दानी र आशा

रामेछाप । खाँडादेवी गाउँपालिका–४ माडिमुहानका युवा कृष्णबहादुर मानन्धरका लागि आज गाउँ नै रोजगारीको केन्द्र बनेको छ। मोटरसाइकल मर्मतको सिप सिकेपछि उनले गाउँमै कृष...

सीपले बदल्यो जीवन, मोटरसाइकल वर्कसपले गाउँमै ल्यायो आम्दानी र आशा

रामेछाप । खाँडादेवी गाउँपालिका–४ माडिमुहानका युवा कृष्णबहादुर मानन्धरका लागि आज गाउँ नै रोजगारीको केन्द्र बनेको छ। मोटरसाइकल मर्मतको सिप सिकेपछि उनले गाउँमै कृष्ण मोटरसाइकल वर्कसप सञ्चालन गरेका छन्।

कृष्णले सामुदायिक विकास समाज मार्फत ७२ दिने मोटरसाइकल मर्मत तालिम लिए। तालिमपछि संस्थाले वर्कसप सञ्चालनका लागि पनि आवश्यक उपकरण सहयोग ग¥यो । त्यसैको आधारमा उनले आफ्नै गाउँमा व्यवसाय सुरु गरे।

“पहिला सिप नहुँदा कहिले इँटा भट्टामा मजदुरी गर्थे, कहिले होटेलमा काम गर्थे, कहिले त गाउँमै बेरोजगार बस्थेँ,” उनले विगत सम्झिए, “सबैभन्दा ठुलो कुरा त सिप रहेछ। अहिले गाउँमै मोटरसाइकल बनाएर धेरथोर आम्दानी भइरहेको छ।”

संस्थाले दिएको उपकरणसँगै केही ऋण गरेर व्यवसाय सुरु गरेको कृष्ण बताउँछन्। “अब त हाफ इन्जिनसम्म मर्मत गर्न सक्छु,” उनले भने, “गाउँ ठाउँका लागि कमाइ ठिकै छ। चित्त बुझ्दो नै छ। काम नआएको दिन पनि चार–पाँच वटा मोटरसाइकलको काम आइहाल्छ।”

गाउँमा मोटरसाइकलको प्रयोग बढेसँगै मर्मत सेवाको आवश्यकता पनि विस्तार हुँदै गएको छ। यही अवसरलाई आत्मसात् गर्दै सुनापति गाउँपालिका–५ भिरकोटका युवा लाप्साङ तामाङले पनि गाउँमै व्यवसाय सुरु गरेका छन्। लाप्साङले पनि ७२ दिने मोटरसाइकल मर्मत तालिम लिएका छन्। तालिमपछि उनले सुनापति गाउँपालिका कार्यालय नजिकै न्यून सुनापति मोटरसाइकल वर्कसप सञ्चालन गरेका छन्। आज उनको गाउँपालिकाभित्रकै मोटरसाइकल मर्मत गर्ने भरपर्दो सेवा केन्द्र बन्दै गएको छ।

“केही वर्ष अगाडिसम्म म गाउँमै घर बनाउने काम गर्थे,” उनले सम्झिए, “तर आम्दानी कम हुँदा परिवार चलाउनै कठिन थियो। अहिले मोटरसाइकल मर्मतको सिपले आम्दानी बढेको छ।”

लाप्साङले वर्कसप सञ्चालनसँगै एक जनालाई रोजगारी पनि दिएका छन्। “अहिले खर्च चलाएर मासिक २० हजार रुपैयाँसम्म बचत पनि हुन्छ,” उनले भने, “पहिले विदेश जाने तयारी गरेको थिएँ, तर विदेशको कमाइ अब गाउँमै हुन थालेपछि विदेश नजाने सोच बनाएको छु।” सीप, श्रम र अवसर भए गाउँमै आम्दानी गर्न सकिने उनको अनुभव छ ।

खाँडादेवी गाउँपालिका–७ थान्सीङका युवा दिलीप मगरले पनि गाउँमै मोटरसाइकल वर्कसप सञ्चालन गरेर परिवार चलाइरहेका छन् । केही वर्ष अघिसम्म कृषि र ज्याला मजदुरीबाट जेनतेन परिवार चलाउँदै आएका दिलीपलाई आम्दानी नपुग्दा विदेश जाने बाध्यता देखिन थालेको थियो। तर सीपमूलक तालिमले उनको जीवनको दिशा फेरियो।

मोटरसाइकल मर्मत तालिम सञ्चालन गर्दै छ भन्ने जानकारी पाएपछि दिलीपले ७२ दिने तालिम लिए। तालिमपछि केही रकम ऋण गरेर उनले आफ्नै गाउँमा खाँडादेवी दिलीप मोटरसाइकल वर्कसप स्थापना गरे। “यो व्यवसाय सुरु गर्नु अघि कृषि, घर बनाउने र काठ चिर्ने काम गरेर परिवार चलाउँथेँ,” दिलीपले भने, “खर्च धान्नै गाह्रो भएपछि विदेश जाने सोच बनाएको थिएँ। तर अहिले यही वर्कसपबाट परिवार पाल्न पुग्ने आम्दानी भइरहेको छ।”

उनका अनुसार हाल सबै खर्च कटाएर मासिक १० देखि २० हजार रुपैयाँसम्म बचत हुने गरेको छ। “बचत भएको पैसाले व्यवसाय विस्तार गर्दै लैजाने योजना छ,” उनले सुनाए, “आम्दानी अझै बढ्दै जाने विश्वास छ।” अहिले कृष्णबहादुर मानन्धर, लाप्साङ तामाङ र दिलीप मगर गाउँमै सीप र मेहनतले भविष्य बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्। वैदेशिक रोजगारीको विकल्प स्थानीय साना उद्यम बन्न सक्ने सम्भावनालाई उनीहरूले व्यवहारमै देखाइरहेका छन्।