रामेछापमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान, स्वतन्त्रलाई केबलकारदेखि त्रिभुजसम्म

रामेछाप । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रामेछापमा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय...

रामेछापमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान, स्वतन्त्रलाई केबलकारदेखि त्रिभुजसम्म

रामेछाप । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रामेछापमा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले उम्मेदवारी दर्ता गराएका १४ राजनीतिक दलका उम्मेदवार र ३ जना स्वतन्त्र उम्मेदवारलाई शुक्रवार निर्वाचन चिन्ह प्रदान गरेको हो ।

स्वतन्त्र उम्मेदवारहरू मध्ये अरुण कार्कीले केबलकार, बाबुकाजी खड्काले कैँची र सन्तोष घिमिरेले त्रिभुज निर्वाचन चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार सबै उम्मेदवारलाई निर्वाचन आयोगको नियमअनुसार चिन्ह प्रदान गरिएको हो ।

 

राजनीतिक दलतर्फ नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र खड्काले रुख, नेकपा (एमाले) का माधवप्रसाद ढुङ्गेलले सूर्य, नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठले तारा, रास्वपाका डा. कृष्णहरि बुढाथोकीले घण्टी, राप्रपाका गोरे तामाङले हलो चिन्ह प्राप्त गरेका छन् ।

त्यसै गरी श्रम संस्कृति पार्टीका ढालबहादुर खपाङ्गी मगरले अँजुलीमा रहेको माटो, उज्यालो नेपाल पार्टीका दीपबहादुर योन्जनले बलिरहेको बिजुलीको चिम, आम जनता पार्टीका पदमबहादुर तामाङले मोबाइल, प्रगतिशील लोकतान्त्रिक पार्टीका वीरेन्द्र श्रेष्ठले खुलेको एकल आँखा, नेशनल रिपब्लिकन नेपालका यमबहादुर मोक्तानले उडिरहेको मौरी, राष्ट्रिय जनमोर्चाका अर्जुनबहादुर थापा मगरले गिलास चिन्ह पाएका छन् ।

यस निर्वाचनमा रामेछापबाट एक मात्र महिला उम्मेदवार केशरी श्रेष्ठ (नेपाल मजदुर किसान पार्टी) ले मादल चुनाव चिन्ह प्राप्त गरेकी छन् ।

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का यमनबहादुर बस्नेतले गोलो घेराभित्र दुई पात भएको गुलाफ, मंगोल नेसनल अर्गनाइजेशन पार्टीका विनोद घिसिङले कुखुराको भाले चुनाव चिन्ह पाएका छन् ।

चुनाव चिन्ह पाएसँगै आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि अब उम्मेदवारहरूले मतदातामाझ आफ्नो चिन्हसहित चुनावी प्रचारमा सक्रिय हुने तयारी गरेका छन् ।