रामेछाप नगरपालिका–७ सुकाजोरमा सार्वजनिक सुनुवाइः विकास र सेवामा नागरिकको प्रत्यक्ष प्रश्न(भिडियो)

रामेछाप । आर्थिक वर्ष २०८२÷०८३ को दोस्रो चौमासिक अवधिमा रामेछाप नगरपालिका–७ नम्बर वडा कार्यालयबाट सञ्चालित विकास आयोजना, कार्यक्रम तथा सेवा प्रवाहको अवस्थाबारे...

रामेछाप नगरपालिका–७ सुकाजोरमा सार्वजनिक सुनुवाइः विकास र सेवामा नागरिकको प्रत्यक्ष प्रश्न(भिडियो)

रामेछाप । आर्थिक वर्ष २०८२÷०८३ को दोस्रो चौमासिक अवधिमा रामेछाप नगरपालिका–७ नम्बर वडा कार्यालयबाट सञ्चालित विकास आयोजना, कार्यक्रम तथा सेवा प्रवाहको अवस्थाबारे नागरिकसँग प्रत्यक्ष संवाद गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ।

सुकाजोरस्थित वडा कार्यालय प्राङ्गणमा शनिवार सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले कृषि प्रवद्र्धन, पूर्वाधार विकास, स्वास्थ्य सेवा, खानेपानी, शिक्षा तथा पछिल्लो समय बढ्दो बाँदर आतङ्क जस्ता विषयमा विभिन्न प्रश्न तथा सुझाव प्रस्तुत गरेका थिए। उठाइएका प्रश्नको जवाफ रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँ र वडा अध्यक्ष समीर कार्कीले दिएका थिए।

कार्यक्रममा वडा कार्यालयमार्फत चालू आर्थिक वर्ष २०८२÷०८३ मा हालसम्म सञ्चालन भएका विकास आयोजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन वडा सचिव भागवत श्रेष्ठले प्रस्तुत गरेका थिए। वडा सचिव श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा वडामा सामाजिक सुरक्षा भत्ता घर–घरमै वितरण, टोल तथा बस्तीमा खानेपानी सेवा विस्तार, विद्यालय तथा स्वास्थ्य संस्थाको भवन, घेरा बार, फर्निचर व्यवस्थापन र इन्टरनेट सेवा विस्तार गरिएको उल्लेख छ ।

हिलेपानी–च्याम्बोट–कोलन्जोर घाट र भालुखोप सडक कालोपत्रे सम्पन्न गरिएको, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कभर्डहलको संरक्षण गरिएको , छाप पात्ले, बर डाँडा, मुडाजोर जस्ता सुक्खा क्षेत्रमा खानेपानी व्यवस्थापन गरिएको उल्लेख छ ।

सबै नागरिकको स्वास्थ्य बिमा तथा स्वयंसेविकाहरूको जीवन बिमा, निःशुल्क एम्बुलेन्स सेवा, एक घर–एक हिलट्यांकी वितरण, कृषकलाई मल, बीउ, विषादी, टनेल, पोखरी तथा पाइप वितरण, फिजियोथेरापी सहितको नागरिक आरोग्य सेवा केन्द्र स्थापना, बालमैत्री वडा घोषणा, लिफ्ट खानेपानी तथा लिफ्ट सिँचाइ आयोजना, वडाभर विद्युतीकरण सम्पन्न तथा कभर्डहल, मन्दिर र प्रतीक्षालय निर्माण जस्ता कार्यहरू गरिएको उल्लेख छ । कार्यक्रमको सहजीकरण हजुरको रेडियो १०२.१ मेगाहर्जले गरेको थियो ।