काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। प्रतिऔंस सुनको भाउ पहिलो पटक ५ हजार अमेरिकी डलर नाघेको छ। सन् २०२५ मा मात्रै सुनको मूल्य ६० प्रतिशतभन्दा बढीले बढिसकेको छ भने चालु वर्षमा पनि यसको उकालो यात्रा जारी रहेको छ।
विश्वव्यापी वित्तीय तथा भू–राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित हुँदा यसको माग तीव्र रूपमा बढेको विश्लेषकहरूले बताएका छन्। विशेषगरी ग्रीनल्याण्डको विषयलाई लिएर अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) बीच बढेको तनावले अन्तर्राष्ट्रिय बजारमा अस्थिरता थपेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीतिले पनि बजारलाई थप सशङ्कित बनाएको छ। हालै ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडामाथि १०० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए, जसले विश्व व्यापार प्रणालीमा अन्योल बढाएको छ।
वित्तीय तथा राजनीतिक अस्थिरताको समयमा सुन तथा अन्य बहुमूल्य धातुलाई सुरक्षित लगानी (सेफ हेभन) का रूपमा लिने गरिन्छ। यही कारण लगानीकर्ताहरू डलर वा सेयर बजारभन्दा सुनमा लगानीलाई बढी सुरक्षित ठानिरहेका छन्।
सुनको मूल्य वृद्धिमा बढ्दो मुद्रास्फीति, कमजोर बन्दै गएको अमेरिकी डलर तथा विश्वभरका केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाउनु प्रमुख कारणका रूपमा देखिएका छन्। साथै अमेरिकी फेडरल रिजर्भले चालु वर्ष ब्याजदर घटाउने अपेक्षाले पनि सुनको बजारलाई थप उकासेको छ।
यसका अतिरिक्त युक्रेन र गाजामा जारी युद्ध तथा अन्य अन्तर्राष्ट्रिय तनावका घटनाक्रमले पनि सुनको मूल्य वृद्धिमा योगदान पुर्याएको छ।
सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। शुक्रबार चाँदीको भाउ पहिलो पटक प्रतिऔंस १०० डलर नाघेको छ। गत वर्ष चाँदीको मूल्य करिब १५० प्रतिशतले वृद्धि भएको थियो।
