काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि तथा बजारमा कृत्रिम अभाव देखिन थालेपछि सरकारको बजार अनुगमन कडा बनाइएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेतेल, चामल र एलपी ग्यासलगायत अत्यावश्यक वस्तुको मूल्य वृद्धि सम्बन्धमा सार्वजनिक रूपमा गुनासो आएपछि यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभागले खाद्यान्न र खानेतेलका प्रमुख उत्पादक, पैठारीकर्ता तथा वितरकलाई छलफलका लागि बोलाई अनुचित नाफा नलिन, मूल्य समायोजन गर्न र उपभोक्तालाई राहत हुने व्यवस्था गर्न निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ।
बजारमा कृत्रिम अभाव सिर्जना गर्ने तथा अस्वाभाविक मूल्य असुल्ने फर्महरूलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ।
