रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले नागरिकको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यसहित टोल–टोलमै पुगेर औषधिसहितको उपचार सेवा सुरु गरेको छ।
यसअघि गाउँ–गाउँमा पुगेर सुगर, प्रेसरलगायतका रोगको परीक्षण र परामर्श दिँदै आएको चिकित्सालयले अब चिकित्सक, स्वास्थ्यकर्मी र औषधिसहितको टोलीमार्फत बस्तीस्तरमै उपचार दिन थालेको हो।
चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीका अनुसार स्वास्थ्य जाँच मात्र नभई आवश्यक औषधि वितरणसहित उपचार सेवा पनि सुरु गरिएको छ। “पहिले हामी घरदैलोमा पुगेर स्वास्थ्य जाँच र परामर्श मात्र दिँदै आएका थियौँ,” कार्कीले भन्नुभयो, “अब चिकित्सक र औषधिसहितको टोलीले टोलमै पुगेर उपचार सेवा पनि दिन थालेको छ।”
उहाँका अनुसार यो सेवा साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको छ। प्रत्येक हप्ताको बिहीबार मन्थली र आसपासका क्षेत्रलाई लक्षित गरी स्वास्थ्य टोली गाउँ–बस्तीमा पुग्ने गरेको छ। गाउँस्तरमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा धेरै नागरिकमा मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर)को समस्या देखिएको उहाँले जानकारी दिनुभयो। यसका साथै हाडजोर्नी दुख्ने, सुन्निने, शरीर झमझमाउने तथा पेटसम्बन्धी रोगीहरूको संख्या पनि उल्लेख्य रहेको पाइएको छ।
गाउँमा पुग्ने स्वास्थ्य टोलीले प्रारम्भिक स्वास्थ्य जाँच, आवश्यक परामर्श तथा सामान्य औषधि वितरण गर्ने र थप उपचार आवश्यक पर्ने बिरामीलाई चिकित्सालयमा आउन सुझाव दिने गरेको छ। चिकित्सालयले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण, पूर्वकर्म तथा पञ्चकर्म सेवा (विभिन्न प्रकारका थेरापी, मालिस, मसाज, सिरोधारा, नस्यकर्म), फिजियोथेरापी, अकुपञ्चर, ल्याब सेवा लगायतका उपचार प्रदान गर्दै आएको छ।
साथै प्रत्येक हप्ताको सोमबार बिहान होलबडी चेकअप सेवा पनि सञ्चालन हुँदै आएको छ।
सेवा विस्तारसँगै चिकित्सालयमा उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको कार्कीले बताउनुभयो। “चिकित्सालयसम्म आउन नसक्ने वा यहाँ उपलब्ध सेवाबारे जानकारी नपाएका नागरिकलाई गाउँमै पुगेर उपचार दिने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो,” उहाँले भन्नुभयो। चिकित्सालयले स्थानीय तहसँग सहकार्य गर्दै पालिका स्तरमा स्वास्थ्य शिविरहरू पनि सञ्चालन गर्दै आएको छ। ती शिविरहरूमा सेवाग्राहीको उल्लेख्य सहभागिता रहने गरेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जनाएको छ।
