धनगढी, २४ माघ । कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्रमा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
शुक्रबार ट्रकको ठक्करबाट एक किशोरको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन्। दुर्घटनामा लम्कीचुहा नगरपालिका–८ का १५ वर्षीय शिरिस भण्डारीको ज्यान गएको हो।
मृतकका आफन्तले परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा ट्रक चालकलाई कानुनअनुसार कारबाही गर्न माग गर्दै टायर बालेर राजमार्ग अवरुद्ध गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले जानकारी दिए।
राजमार्ग अवरुद्ध भएसँगै पूर्व–पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। हाल मृतक पक्ष र स्थानीय प्रशासनबीच समस्या समाधानका लागि छलफल जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न सुपप्र ०१००१ ख २८५० नम्बरको ट्रकका चालक गोदावरी नगरपालिका–१ निवासी ३९ वर्षीय रामदत्त भट्टलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
