काठमाडौँ । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्ने आदेश दिएको हो।
अधिवक्ता रामबहादुर राउत मातृदासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक यातायात व्यवस्था विभाग, अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग तथा डेकाटुर टाइगर कम्पनी नेपाललाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्रतिक्रिया दिँदै अधिवक्ता राउतले यसले सकारात्मक सन्देश दिएको र नेपाली भाषाको जित भएको बताएका छन्। अदालतको आदेशसँगै देवनागरी लिपी विस्थापित गरी अंग्रेजी भाषा मात्र प्रयोग गर्ने गरी गरिएको निर्णय तत्काल कार्यान्वयनमा नआउने भएको छ।
यसअघि २०७९ चैत २२ गते सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसँगै नेपाली भाषा पनि प्रयोग गर्न सकिने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो। तत्कालीन मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधन गर्ने निर्णय लिएको थियो।
उक्त निर्णयअनुसार ऐनको अनुसूची–२ संशोधन गरी इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसहित नेपाली भाषा प्रयोग गर्न सकिने नीति लागू गर्ने तयारी गरिएको थियो।
