काठमाडौं, धादिङको पृथ्वी राजमार्ग खण्डमा दुई वटा बस आपसमा ठोक्किँदा सडकछेउको चिया पसलमा जोत्तिएका छन्। दुर्घटनामा चिया पिउँदै गरेका एक टिपर चालकको मृत्यु भएको छ भने पसल सञ्चालक घाइते भएका छन्।
धादिङको थाक्रे गाउँपालिका–६ दशकिलास्थित पृथ्वी राजमार्गमा आइतबार बिहान करिब ७:३० बजे दाङबाट काठमाडौं आउँदै गरेको प्र.३–०१–००६ ख १५५२ नम्बरको बस र बा.प्र ०१–००६ ख ५२०६ नम्बरको बस आपसमा ठोक्किएका थिए।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालका अनुसार बस ठोक्किएपछि तीमध्ये एक बस सडकछेउमा खगेश्वर शर्माले सञ्चालन गरेको टिनले छाएको चिया पसलमा जोत्तिएको थियो।
दुर्घटनामा पसलमा चिया पिउँदै गरेका धुनीवेशी नगरपालिका–९ स्याउलेका ३५ वर्षीय सुजन तामाङ र पसल सञ्चालक खगेश्वर शर्मा घाइते भएका थिए। दुवैलाई उपचारका लागि काठमाडौं ल्याइएकोमा तामाङको उपचारका क्रममा बिहान करिब १० बजे ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक तामाङ पेशाले टिपर चालक रहेको र टिपर सडक किनारमा रोकेर चिया–नास्ता गर्न पसलमा प्रवेश गरेको खुलेको छ। पसल सञ्चालक शर्माको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनामा दुवै बसका यात्रुहरू भने सुरक्षित रहेका छन्। दुवै बसका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।
