पूर्व टेलिभिजन प्रस्तोता ताकाइची जापानकी प्रधानमन्त्री, एलडीपीलाई प्रचण्ड बहुमत

काठमाडौँ । जापानको प्रधानमन्त्री निर्वाचनमा पूर्व टेलिभिजन प्रस्तोता सानाए ताकाइची नेतृत्वको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल ग...

पूर्व टेलिभिजन प्रस्तोता ताकाइची जापानकी प्रधानमन्त्री, एलडीपीलाई प्रचण्ड बहुमत

काठमाडौँ । जापानको प्रधानमन्त्री निर्वाचनमा पूर्व टेलिभिजन प्रस्तोता सानाए ताकाइची नेतृत्वको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल गरेको छ। आइतबार सम्पन्न निर्वाचनमा एलडीपीले संसदको शक्तिशाली तल्लो सदनमा निर्णायक जित दर्ता गर्दै सरकार सञ्चालनका लागि बलियो आधार बनाएको हो।

सरकारी प्रसारक एनएचकेको नतिजाअनुसार ४६५ सदस्यीय तल्लो सदनमा एलडीपीले ३१६ सिट जितेको छ। यो साधारण बहुमतका लागि आवश्यक २३३ सिटभन्दा ८३ सिट बढी हो। यस जितसँगै ताकाइची पाँच वर्षको अवधिमा जापानकी चौथी प्रधानमन्त्री बनेकी छन्।

जितपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ताकाइचीले जिम्मेवार र सक्रिय वित्तीय नीतिलाई आफ्नो प्राथमिकता रहने बताइन्। ‘हामी वित्तीय नीतिको दिगोपनमा केन्द्रित हुनेछौं र आवश्यक लगानी सुनिश्चित गर्नेछौं,’ उनले भनिन्।

को हुन् सानाए ताकाइची ?

पूर्व प्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी मानिने ६४ वर्षीया सानाए ताकाइची एलडीपीको दक्षिणपन्थी धारमा पर्ने नेतृका रूपमा परिचित छिन्। बेलायती पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरप्रतिको प्रशंसाका कारण उनलाई ‘आइरन लेडी’ उपनामसमेत दिइएको छ।

लैङ्गिक समानता र आप्रवासन नीतिमा रूढिवादी धारणा राख्ने ताकाइचीले आफ्नो राजनीतिक करिअरमा विभिन्न मन्त्री पद सम्हालिसकेकी छन्। राजनीतिमा आउनुअघि उनले केही समय टेलिभिजन प्रस्तोता (होस्ट) का रूपमा पनि काम गरेकी थिइन्।

हेभी मेटल संगीतप्रतिको रुचिका कारण उनी एक ब्याण्डमा समेत संलग्न थिइन्। स्टेजमा ऊर्जावान प्रस्तुति दिँदा ड्रमस्टिक भाँचिने भएकाले सधैं धेरै ड्रमस्टिक बोकेर हिँड्ने व्यक्तिका रूपमा उनी चर्चित रहँदै आएकी छन्।

आर्थिक प्रतिबद्धता र चुनौती

पछिल्ला वर्षहरूमा सत्तारूढ एलडीपी चन्दा तथा धार्मिक काण्डका कारण आलोचनामा परेको थियो। तर, ताकाइचीले घरपरिवारलाई बढ्दो महँगीबाट जोगाउन खाद्यान्नमा लाग्ने आठ प्रतिशत बिक्री कर निलम्बन गर्ने चुनावी प्रतिबद्धतासहित निर्वाचनमा होमिएकी थिइन्।

यद्यपि, विकसित अर्थतन्त्रहरूमध्ये सबैभन्दा ठूलो सार्वजनिक ऋण बोकेको जापानले यस्तो योजना कसरी वित्तपोषण गर्छ भन्ने प्रश्न उठिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया : अमेरिका खुसी, चीन असन्तुष्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइचीलाई बधाई दिँदै ‘पूर्ण समर्थन’ रहने बताएका छन्। ताकाइचीले पनि ट्रम्पप्रति धन्यवाद व्यक्त गरेकी छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समेत यस जितलाई ‘ठूलो सफलता’को संज्ञा दिएका छन्।

तर, जापानको निर्वाचन परिणामले चीनलाई भने चिन्तित बनाएको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्। भू–राजनीतिक जोखिमसम्बन्धी सल्लाह दिने एसिया ग्रुपका प्रमुख डेभिड बोलिङका अनुसार बेइजिङले ताकाइचीको जितलाई स्वागत गर्ने संकेत देखाएको छैन।

पदभार सम्हालेको केही सातामै ताइवानमाथि चीनले आक्रमण गरे जापानले कसरी प्रतिक्रिया जनाउन सक्छ भन्ने विषय सार्वजनिक रूपमा उठाएपछि चीन–जापान सम्बन्धमा पछिल्लो एक दशककै ठूलो कूटनीतिक तनाव देखिएको थियो।

अब ताकाइचीले चाहेको कानुन बनाउन सक्छिन्

होसेई विश्वविद्यालयका प्राध्यापक क्रेग मार्कका अनुसार तल्लो सदनमा प्राप्त स्पष्ट बहुमतले ताकाइचीलाई विपक्षी दलको अवरोधबिना नीति र कानुन अघि बढाउने शक्ति दिएको छ।

रेकर्ड बजेटदेखि रक्षा खर्चसम्म, उनी चाहेको कुनै पनि कानुन पारित गर्न सक्छिन्,’ मार्कले अल जजिरालाई भनेका छन्। उनका अनुसार यो अवस्था ताकाइचीका लागि जापानको शान्तिवादी राष्ट्रको छवि पुनःपरिभाषित गर्ने ठूलो अवसरसमेत हो।

जापानको प्रमुख व्यावसायिक महासंघ केइदानरेनका अध्यक्षले पनि निर्वाचन परिणामले राजनीतिक स्थिरता फर्काएको भन्दै यसको स्वागत गरेका छन्।