खोटाङ, माघ २६ । भारतको मेघालय राज्यमा रहेको अवैध कोइलाखानीमा भएको विस्फोटमा खोटाङका तीन जना युवाको ज्यान गएको छ भने एक जना अझै बेपत्ता छन्। घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। मृतकको शव नेपाल ल्याउन परिवारलाई समस्या भइरहेको छ।
मेघालयको पूर्वी जयन्तीया हिल्स क्षेत्रमा सञ्चालित अवैध कोइलाखानीमा माघ २२ गते भएको विस्फोटमा खोटाङको बरापोखरी गाउँपालिका–१ सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो।
स्थानीयका अनुसार पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ हुन्। विस्फोटमा गम्भीर घाइते भएका नरबहादुरको उपचारका क्रममा माघ २३ गते मृत्यु भएको जानकारी स्थानीय शिवकुमार श्रेष्ठले दिए।
एक युवक अझै बेपत्ता
विस्फोटका क्रममा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई बेपत्ता भएका छन्। कोइलाखानीभित्र काम गरिरहेका बेला विस्फोट भएको र त्यसपछि उनी सम्पर्कविहीन भएको बताइएको छ।
मेघालयमै सँगै बसेर काम गर्दै आएका भोजपुरका आफन्तका अनुसार रत्न खानीभित्र पसेकै समयमा विस्फोट भएको थियो। विस्फोटपछि खानीभित्रै जलेर ज्यान गएको हुन सक्ने आशंका गरिएको छ। बेपत्ता रत्नको नागरिकता, डायरी र मोबाइल कोठामै फेला परेको जनाइएको छ।
रत्न रोजगारीका सिलसिलामा गत असोज ९ गते मेघालय गएको आफन्तले बताएका छन्।
तीन जना गम्भीर घाइते
विस्फोटमा परेर बरापोखरी गाउँपालिका–१ सालघारीका ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते भएका छन्।
उनीहरूको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सँगै काम गर्दै आएका ताराबल मगरले जानकारी दिए। विस्फोटको खबर ताराबलले नै फोनमार्फत मृतक तथा घाइतेका आफन्तलाई जानकारी गराएका थिए।
शव ल्याउन कठिनाइ, सहयोग संकलन सुरु
विस्फोटमा ज्यान गुमाएका युवाको शव मेघालयबाट नेपाल ल्याउन परिवारलाई ठूलो कठिनाइ भइरहेको छ। आफन्तको मृत्युको खबर पाएपछि तीन दिनको यात्रा गरेर मेघालय पुगेका मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले शव स्वदेश ल्याउन कानुनी र आर्थिक समस्या भइरहेको बताए।
शव नेपाल ल्याउन तथा गम्भीर घाइतेको उपचारका लागि स्थानीयस्तरमा सहयोग संकलन अभियान सुरु गरिएको स्थानीयवासी प्रकाश बञ्जराले जानकारी दिए।
घटनापछि खोटाङ जिल्लामा शोकको माहोल छ भने वैदेशिक रोजगारीका क्रममा जोखिमपूर्ण अवैध काममा नेपाली श्रमिकहरू संलग्न हुनुपर्ने बाध्यताप्रति पुनः गम्भीर प्रश्न उठेको छ।
