बेलायतमा नेपाली विद्यार्थीको समस्या बढ्दै, एनओसी रोक्न ध्यानाकर्षण

लन्डन, २८ माघ – बेलायतस्थित कोभेन्ट्री विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले प्राविधिक समस्याका कारण भोग्नुपरेको सास्तीपछि लन्डनस्थित नेपाली दूतावासले सम...

बेलायतमा नेपाली विद्यार्थीको समस्या बढ्दै, एनओसी रोक्न ध्यानाकर्षण

लन्डन, २८ माघ – बेलायतस्थित कोभेन्ट्री विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले प्राविधिक समस्याका कारण भोग्नुपरेको सास्तीपछि लन्डनस्थित नेपाली दूतावासले सम्बन्धित विश्वविद्यालयलाई कडा पत्राचार गरेको छ। साथै, त्यहाँ अध्ययन गर्न जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी नगर्न नेपाल सरकारलाई समेत ध्यानाकर्षण गराइएको छ।

कोभेन्ट्री युनिभर्सिटी डेगेनहाममा बिजनेस म्यानेजमेन्ट एन्ड लिडरसिप बीए (अनर्स) अध्ययनरत रेविका (नाम परिवर्तन) ले दोस्रो वर्षको भर्नाका क्रममा ठूलो समस्या झेल्नुपरेको थियो। उनले ८ हजार पाउण्डमध्ये बाँकी २ हजार ३०० पाउण्ड जनवरी ३० मा तीन वटा ट्रान्जेक्सनमार्फत तिरेकी थिइन्। उक्त भुक्तानी फेब्रुअरी २ को समयसीमाभित्रै गरिएको थियो।

तर, कन्भेरा एप्समार्फत गरिएको एक ट्रान्जेक्सनको रिसिट समयमै उपलब्ध नभएपछि विश्वविद्यालयको सिस्टममा पूरा रकम नदेखिएको भन्दै उनलाई भर्नाको म्याद गुज्रिएको जनाउँदै नेपाल फर्किन भनिएको थियो।

फेब्रुअरी ३ मा रिसिट प्राप्त गरेपछि उनले विश्वविद्यालयसँग पुनर्विचारका लागि अनुरोध गरिन्। तर सुनुवाइ नभएपछि उनले लन्डनस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ बेलायत लगायत निकायमा गुहार मागिन्।

दूतावासले विश्वविद्यालयलाई पत्र लेख्दै सामान्य प्राविधिक समस्यामा विद्यार्थीलाई नेपाल फर्काउन नहुने उल्लेख गर्दै पुनर्विचार गर्न आग्रह गरेको थियो। साथै, यस्ता घटनामा सुधार नभए एनओसी नै रोक्ने चेतावनीसमेत दिइएको थियो। त्यसपछि विश्वविद्यालयले पुनः भर्ना दिएको रेविकाले बताइन्।

“यदि पढाइ बीचमै छाडेर फर्किनुपरेको भए समय, पैसा र भविष्य नै बर्बाद हुन्थ्यो,” उनले भनिन्।

कार्यवाहक राजदूत विपिन दुवाडीका अनुसार कोभेन्ट्री विश्वविद्यालयमा अध्ययनरत अन्य नेपाली विद्यार्थीले समेत यस्तै समस्या भोग्दै आएको गुनासो दूतावासमा आएको छ। विश्वविद्यालयले मानवीय संवेदनशीलता नदेखाएको भन्दै डेगेनहाम र ग्रीनवीच शाखाका लागि एनओसी जारी नगर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरिएको उनले जानकारी दिए।

“विद्यार्थीसँग हजारौं पाउण्ड शुल्क लिने तर समस्या पर्दा अपिलको अधिकार नदिने, काउन्सिलिङ नगर्ने र प्रत्यक्ष संवादको व्यवस्था नहुनु स्वीकार्य छैन,” दुवाडीले भने।

शैक्षिक परामर्शविज्ञ हरि कार्कीले पनि विश्वविद्यालयले ट्युसन शुल्कका विषयमा झन्झटिलो प्रक्रिया अपनाउने र विद्यार्थीका समस्या नसुन्ने प्रवृत्ति उचित नभएको बताए।

पछिल्ला वर्षहरूमा बेलायत उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको छ। नेपाल बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने पाँचौं ठूलो देश बनेको छ। पछिल्ला पाँच वर्षमा ६० हजारभन्दा बढी विद्यार्थीले शिक्षा मन्त्रालयबाट एनओसी लिएका छन् भने सन् २०२५ मा मात्रै २० हजारभन्दा बढीले एनओसी लिएका छन्।

यसैबीच, लन्डनस्थित नेपाली दूतावासले हालै ‘बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीका सरोकार’ विषयक सम्मेलन आयोजना गरी समस्या पहिचान र समाधानका उपायबारे छलफल गरेको जनाएको छ।