काठमाडौं, माघ २८ – आइसिसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन्। समूह ‘डी’, ‘बी’ र ‘सी’ का टोलीहरू मैदानमा उत्रिँदैछन्।
समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ११:१५ बजे अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ। दुवै टोली दोस्रो खेल खेल्दैछन्। दक्षिण अफ्रिकाले पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो भने अफगानिस्तान न्युजिल्याण्डसँग पराजित भएको थियो।
समूह ‘बी’ मा अस्ट्रेलिया र आयरल्याण्डबीचको खेल अपराह्न ३:१५ बजे कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियममा हुनेछ। अस्ट्रेलियाको यो प्रतियोगितामा पहिलो खेल हो भने आयरल्याण्ड पहिलो खेलमा श्रीलंकासँग पराजित भइसकेको छ।
यस्तै, बेलुकी ७:१५ बजे समूह ‘सी’ अन्तर्गत इंग्ल्याण्ड र वेस्ट इण्डिज आमनेसामने हुनेछन्। नेपाल रहेको यही समूहको खेल कोलकातास्थित वानखेडे स्टेडियममा हुनेछ। दुवै टोली दोस्रो खेल खेल्दैछन्। पहिलो खेलमा इंग्ल्याण्डले नेपाललाई पराजित गरेको थियो भने वेस्ट इण्डिजले स्कटल्याण्डलाई हराएको थियो।
