अमेरिकाले भुक्तानी नदिँदा राष्ट्रसंघ आर्थिक संकटतर्फ

न्युयोर्क, माघ २८ – अमेरिकाबाट अपेक्षित रकम समयमै प्राप्त हुन नसक्दा संयुक्त राष्ट्रसंघ (यूएन) आर्थिक दबाबमा परेको छ। महासचिव एन्टोनियो गुटेरेसले सदस्य राष्ट्रह...

अमेरिकाले भुक्तानी नदिँदा राष्ट्रसंघ आर्थिक संकटतर्फ

न्युयोर्क, माघ २८ – अमेरिकाबाट अपेक्षित रकम समयमै प्राप्त हुन नसक्दा संयुक्त राष्ट्रसंघ (यूएन) आर्थिक दबाबमा परेको छ। महासचिव एन्टोनियो गुटेरेसले सदस्य राष्ट्रहरूले आफ्नो दायित्वअनुसारको शुल्क समयमै नतिरे तथा वित्तीय संरचनामा सुधार नभए संगठन गम्भीर आर्थिक संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसंघका अधिकारीहरूका अनुसार अमेरिकाले नियमित सञ्चालन बजेटतर्फ करिब दुई अर्ब अमेरिकी डलर तिर्न बाँकी छ। यसमध्ये चालु वर्षका लागि मात्र ७ करोड ६७ लाख डलर समावेश छ। शान्ति स्थापना कार्यका लागि छुट्टै विनियोजित बजेटमा पनि अमेरिकाको उल्लेखनीय बक्यौता रहेको जनाइएको छ।

महासचिव गुटेरेसले आवश्यक रकम समयमै उपलब्ध नभए आगामी जुलाईसम्म नियमित बजेट सकिन सक्ने र त्यसले संगठनका विभिन्न कार्यक्रम तथा गतिविधिमा प्रत्यक्ष असर पार्न सक्ने बताएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म करिब ६० सदस्य राष्ट्रले आफ्नो वार्षिक योगदान समयमै बुझाइसकेका छन्। तर नियमित बजेटतर्फको सबैभन्दा ठूलो बक्यौता अमेरिकाकै रहेको बताइएको छ।

यता अमेरिकी पक्षले भने आगामी केही हप्ताभित्र बाँकी रकमको आंशिक भुक्तानी गर्ने योजना बनाइरहेको जनाएको छ। यस विषयमा महासचिव गुटेरेस र अमेरिकी अधिकारीहरूबीच निरन्तर संवाद भइरहेको संयुक्त राष्ट्रसंघले स्पष्ट पारेको छ।

संयुक्त राष्ट्रसंघ विश्वव्यापी शान्ति स्थापना, मानवीय सहायता र विकास कार्यक्रम सञ्चालनका लागि सदस्य राष्ट्रहरूको अनिवार्य आर्थिक योगदानमा निर्भर रहँदै आएको छ। समयमै योगदान नआए संगठनको कार्यसम्पादन प्रभावित हुने विज्ञहरूले चेतावनी दिएका छन्।