कांग्रेस–एमालेसँग फेरि मिल्ने गल्ती दोहोर्‍याउँदिनौँ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक नेपाली कांग्रेस र नेकपा एमालेसँग कुनै पनि प्रकारको चुनावी समीकरण नगर्ने स...

कांग्रेस–एमालेसँग फेरि मिल्ने गल्ती दोहोर्‍याउँदिनौँ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक नेपाली कांग्रेस र नेकपा एमालेसँग कुनै पनि प्रकारको चुनावी समीकरण नगर्ने स्पष्ट पारेका छन्। म्याग्दीमा आयोजित पार्टीको चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले एक्लै चुनाव लड्ने निर्णयले पार्टी पंक्ति उत्साहित भएको बताए।

प्रचण्डका अनुसार कांग्रेस र एमालेसँग सहकार्य नगर्ने निर्णयपछि ७७ वटै जिल्लामा पार्टीका नेता–कार्यकर्ता खुसी देखिएका छन्। “पार्टीले आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने आँट गरेकोमा सबै उत्साहित छन्,” उनले भने, “सामाजिक सञ्जालमा मिल्न लाग्यो भन्ने हल्ला आउँदा तपाईंहरू पनि झसङ्ग हुनुभएको होला। तर म दृढताका साथ भन्छु, यो पटक हामी कसैसँग पनि समीकरण गर्दैनौँ।”

उनले पार्टी पंक्तिलाई ढुक्क भएर निर्वाचन अभियानमा जुट्न आग्रह गरे। कांग्रेस र एमालेभित्र पछिल्लो समय देखिएका आन्तरिक उतारचढावको असर तल्लो तहसम्म पुगेको उनको दाबी छ। कांग्रेसको विशेष महाधिवेशन र एमालेको महाधिवेशनपछि केन्द्रदेखि जिल्ला, क्षेत्र र इलाकासम्म प्रभाव परेको उनले बताए।

“कांग्रेसभित्र के–के भइरहेको छ, एमालेभित्र कसले जित्यो, कसले हार्‍यो—यी सबै तपाईं–हामीले देखिरहेका छौँ,” उनले भने, “त्यसको असर स्थानीय तहसम्म देखिन थालेको छ।”

प्रचण्डले सबै राजनीतिक शक्तिसँग संवादको नीति भने निरन्तर रहने स्पष्ट गरे। कुनै दल वा गुटसँग शत्रुता र अरूसँग मात्रै मित्रता गर्ने प्रवृत्ति नअपनाइने उनको भनाइ छ। “राष्ट्र, जनता, समृद्धि, सुशासन र भ्रष्टाचारविरुद्ध उभिन सक्ने जो–कोहीसँग सहकार्य हुन्छ,” उनले भने, “तर चुनावी समीकरण भने हुँदैन, यो चुनाव हामी एक्लै लड्छौँ।”

कहिलेकाहीँ आफूले कांग्रेस सभापति शेरबहादुर देउवा वा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको विषयलाई लिएर अनावश्यक तरंग नफैलाउन पनि उनले आग्रह गरे। देशलाई एकताबद्ध राख्ने र सम्भावित दुर्घटनाबाट जोगाउने मुख्य जिम्मेवारी नेकपाकै भएको उनको भनाइ छ।

चुनावसम्म सबैले इमानदार मेहनत गरे पार्टी पहिलो शक्ति बन्ने दाबी गर्दै उनले विगतका कमजोरी सच्याएर मुलुकलाई नयाँ निकास दिने प्रतिबद्धता व्यक्त गरे।