काठमाडौँ। आज फेब्रुअरी १४, विश्वभर प्रेम र स्नेह साटासाट गर्ने विशेष दिन ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि विभिन्न कार्यक्रम र गतिविधिसहित उत्साहका साथ मनाइँदै छ। पछिल्ला वर्षहरूमा यो दिवस केवल एक दिनमा सीमित नरही सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित पर्वका रूपमा विकास हुँदै गएको देखिन्छ।
विशेषगरी युवायुवतीहरूबीच लोकप्रिय बनेको भ्यालेन्टाइन डेमा प्रेमी–प्रेमिकाले एकअर्कालाई फूल, कार्ड, चकलेटलगायत उपहार आदान–प्रदान गर्ने तथा आफ्ना भावना खुलेर व्यक्त गर्ने चलन बढ्दो छ। सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै भ्यालेन्टाइन डे मनाउने शैली पनि आधुनिक र आकर्षक बन्दै गएको छ।
भ्यालेन्टाइन डे मनाउने परम्परा तेस्रो शताब्दीका सन्त भ्यालेन्टाइनसँग जोडिएको विश्वास गरिन्छ। रोमन शासक क्लोडियसले सैनिकहरूलाई विवाह गर्न रोक लगाएपछि सन्त भ्यालेन्टाइनले त्यसको विरोध गर्दै गुप्त रूपमा विवाह गराइदिएका थिए। यही कारण उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमप्रतिको उनको समर्पण र बलिदानको सम्झनामा यो दिवस मनाउने परम्परा सुरु भएको मानिन्छ।
नेपालमा पनि भ्यालेन्टाइन डेअघि एक सातासम्म विभिन्न ‘डे’ हरू मनाउने चलन बढ्दै गएको छ। फेब्रुअरी ७ देखि सुरु हुने यस सप्ताहमा रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे र हग डे मनाइँदै अन्ततः फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाइन्छ।
