काठमाडौं। आईसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन्। आजका खेलमध्ये दुई खेल भारतमा र एक खेल श्रीलंकामा आयोजना हुनेछन्।
आजको पहिलो खेलमा आयरल्याण्ड र ओमान आमनेसामने हुँदैछन्। समूह ‘बी’ अन्तर्गतको यो खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी क्रिकेट ग्राउन्डमा बिहान ११ः१५ बजे सुरु हुनेछ। समूह बीमा रहेका दुवै टोलीले अहिलेसम्म खेलेका दुई–दुई खेलमा पराजय बेहोरेका छन्। आज उनीहरू तेस्रो खेल खेल्दैछन्।
दोस्रो खेलमा नेपालको समूह ‘सी’ का इंग्ल्याण्ड र स्कटल्याण्ड भिड्नेछन्। खेल दिउँसो ३ः१५ बजे भारतको कोलकातास्थित इडेन गार्डेनमा हुनेछ। दुवै टोलीले दुई–दुई खेल खेलेका छन् भने एक–एक खेलमा हार बेहोरेका छन्। रनरेटका आधारमा स्कटल्याण्ड अघि रहेको छ।
तेस्रो खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ। खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आयोजना हुनेछ। दुवै टोलीले यसअघि खेलेका दुई–दुई खेलमा जित हात पारेका छन् र आज तेस्रो खेल खेल्न लागेका हुन्।
