टी–२० विश्वकपमा पाकिस्तानी बलर उस्मान तारिकको बलिङ शैलीले निम्त्यायो विवाद र बहस

जारी आईसीसी टी–२० विश्वकपमा पाकिस्तानी स्पिनर उस्मान तारिकको भिन्न बलिङ शैली चर्चा र बहसको विषय बनेको छ। बल प्रहार गर्नुअघि केही समय अडिने उनको शैलीलाई लिएर साम...

टी–२० विश्वकपमा पाकिस्तानी बलर उस्मान तारिकको बलिङ शैलीले निम्त्यायो विवाद र बहस

जारी आईसीसी टी–२० विश्वकपमा पाकिस्तानी स्पिनर उस्मान तारिकको भिन्न बलिङ शैली चर्चा र बहसको विषय बनेको छ। बल प्रहार गर्नुअघि केही समय अडिने उनको शैलीलाई लिएर सामाजिक सञ्जालदेखि क्रिकेट विश्लेषकसम्मबीच बहस चर्किएको हो।

अमेरिकाविरुद्धको खेलमा चार ओभर बलिङ गर्दै २७ रन खर्चेर तीन विकेट लिएपछि तारिक थप चर्चामा आए। उक्त खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरेको थियो। आइतबार हुने भारत–पाकिस्तान खेलअघि भारतमा पनि उनको बलिङ शैलीबारे व्यापक चर्चा भइरहेको छ।

अमेरिका र पाकिस्तानबीचको खेलका भिडियो क्लिपहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएका छन्। विशेषगरी बल हातबाट छुट्नुअघि केही बेर रोकिएको जस्तो देखिने तारिकको शैली नियमविपरीत भएको दाबी केही प्रयोगकर्ताले गरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ता श्रीवत्स गोस्वामीले यस्तो शैलीले खेलको निरन्तरतामा असर पार्ने भन्दै प्रश्न उठाएका थिए।

तर भारतीय पूर्वस्पिनर रविचन्द्र अश्विनले भने उस्मान तारिकको शैलीको बचाउ गरेका छन्। उनले ब्याटरले ‘स्विच हिट’ वा ‘रिभर्स स्वीप’ खेल्दा अम्पायरलाई जानकारी दिनु नपर्ने उदाहरण दिँदै बलरमाथि मात्रै प्रतिबन्ध किन भन्ने प्रश्न उठाएका छन्। बलिङ गर्दा रोकिएर बल फाल्न रोक लगाउने स्पष्ट नियम नरहेको उनको भनाइ छ।

यसै विषयमा भारतीय पूर्वक्रिकेटर आकाश चोपडाले पनि भिडियो विश्लेषण गर्दै केही समय अडिएर बलिङ गर्दा ठूलो समस्या नदेखिएको बताए। यद्यपि, उनले हातको घुमाइ (आर्म एक्शन) बारे भने ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।

अश्विनले बलिङ एक्शन सही भए वा नभएको विषय आईसीसीको ‘बलिङ एक्शन टेस्टिङ सेन्टर’मा परीक्षण गरेर मात्र निष्कर्ष निकाल्न सकिने बताए। आईसीसीको नियमअनुसार बल छोड्ने बेला कुहिनो १५ डिग्रीभन्दा बढी नखुम्चिनुपर्ने प्रावधान छ, तर मैदानमै अम्पायरले यो नाप्न कठिन हुने उनको भनाइ छ।

करिब एक वर्षअघि एक अन्तर्वार्तामा उस्मान तारिकले आफ्नो बलिङ शैलीबारे स्पष्टीकरण दिएका थिए। उनले चिकित्सकीय परीक्षण गराउँदा आफ्नो कुहिनाको बनावट सामान्यभन्दा फरक रहेको र जन्मजात दुईवटा हड्डीका कारण हात पूर्ण रूपमा सीधा नहुने बताएका थिए।

यसैबीच, पाकिस्तान क्रिकेट बोर्डले गत वर्ष मे महिनामा विज्ञप्ति जारी गर्दै उस्मान तारिकको बलिङ एक्शन लाहोरस्थित बायोमेकानिक्स ल्याबमा परीक्षण गरिएको र त्यहाँ स्वीकृत भएको जानकारी दिएको थियो। पाकिस्तान सुपर लिग (पीएसएल)का खेलहरूमा पनि उनको बलिङ शैलीबारे उजुरी परेपछि पटक–पटक परीक्षण गरिएको र हरेक पटक उनी पास भएको पीसीबीको भनाइ छ।

क्रिकेट विश्लेषकहरूका अनुसार उस्मान तारिकको फरक कोण, छोटो रोकावट र विविधताले ब्याटरलाई दबावमा पार्ने गर्छ। यही कारण उनका बलहरू ब्याटरका लागि चुनौतीपूर्ण बन्ने गरेको बताइन्छ।

आईसीसीका नियमअनुसार ‘चकिङ’ अर्थात् नियमविपरीत बलिङ निषेध गरिएको छ। तर विशेषज्ञहरू भन्छन्—केही बलरको हात संरचना अत्यन्त लचिलो हुने भएकाले नाङ्गो आँखाले हेर्दा गलत जस्तो देखिए पनि वैज्ञानिक परीक्षणमा त्यो नियमअनुसार नै ठहरिन सक्छ।

यसरी, उस्मान तारिकको अनौठो बलिङ शैली अहिले टी–२० विश्वकपकै सबैभन्दा चर्चित विषयमध्ये एक बनेको छ, जसले आगामी खेलहरूमा अझ बढी ध्यान तान्ने निश्चित देखिन्छ।