काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वका उम्मेदवारको रूपमा मतदाता भेटघाटको क्रममा ऐतिहासिक चुनबाङ बैठक स्थल पुगेका छन्।
प्रचण्डले आज बिहान माओवादीको केन्द्रीय समितिको बैठक बसेको स्थल, आफू र पत्नी सीता दाहालको कोठा, छोरा प्रकाश दाहाल र अन्य नेताहरूको बस्ने स्थानको अवलोकन गरे। यस क्रममा आफ्ना पत्नी र छोराका योगदानबारे राखिएका प्रश्नमा प्रचण्ड भावुक भए।
चुनबाङमा बसेको बैठक २०६२ असोजमा सम्पन्न भएको थियो। उक्त बैठकमा माओवादीको केन्द्रीय समितिले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरी संसदवादी राजनीतिक दलसँग सहकार्यको बाटो खोलेको थियो। यस बैठकमा माओवादीको ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ सदस्यमा घटाइएको थियो।
भ्रमणका क्रममा प्रचण्डले भने, “यहाँको बैठकबाटै १२ बुँदे समझदारी र शान्तिसम्झौताबारे निष्कर्षमा पुगेका थियौं। हामीले यही हलमा बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाएका थियौं। अर्कोतिर ७ दलसँग शान्ति वार्ता गर्ने निर्णय पनि यहीँ गरिएको थियो।”
उनले चुनबाङ बैठकलाई जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तितर्फ डोर्याउने ऐतिहासिक बैठकको रूपमा स्मरण गर्दै रुकुमलाई क्रान्ति र शान्ति स्थापना गर्ने दृष्टिले महत्वपूर्ण जिल्ला भएको बताए।
हाल प्रचण्ड गैरीगाउँमा मतदाता भेटघाटमा सक्रिय छन् र तीन दिनदेखि रुकुम पूर्वमा मतदाता भेटघाटको क्रममा रहेका छन्।
