रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको पहिलो वर्षमै ७० प्रतिशत प्रगति हासिल गर्न सफल भएको छ। स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशबाट खटिएको अनुगमन टोलीले बुधवार र बिहीबार गरेको मूल्याङ्कनका आधारमा चिकित्सालयले उक्त उपलब्धि हासिल गरेको हो। अनुगमन टोलीमा स्रोत व्यक्ति डा. कोपिला अधिकारी, निर्देशनालयका मेडिकल अधिकृत डा. माधव पौडेल, न्यूनतम सेवा मापदण्ड फोकल पर्सन सुशील आचार्य तथा कविराज निरीक्षक विनोदकुमार साह लगायत सहभागी रहनुभएको थियो। टोलीले निर्देशनालयले तयार पारेका सूचकका आधारमा सेवा प्रवाह, व्यवस्थापन, सुशासन, औषधि भण्डारण, अभिलेखीकरण तथा कार्यक्रम सञ्चालनको समग्र मूल्याङ्कन गरेको थियो।
चिकित्सालयले यही आर्थिक वर्षदेखि मन्थली अस्पतालको पुरानो भवनबाट सेवा सञ्चालन गर्दै आएको छ। पूर्वाधार तथा कार्यालय व्यवस्थापनका केही काम अझै बाँकी रहेकै अवस्थामा पनि पहिलो वर्षमै ७० प्रतिशत प्रगति हासिल गर्नु सकारात्मक उपलब्धि भएको निमित्त प्रमुख दीपक कार्कीले बताए । मूल्याङ्कनका क्रममा औँल्याइएका सुधार गर्नुपर्ने पक्षलाई प्राथमिकतामा राखी योजना बनाएर कार्यान्वयनमा लैजाने उनले बताए ।
स्रोत व्यक्ति डा. अधिकारीले सुशासनको क्षेत्रमा चिकित्सालयले उल्लेखनीय काम गरेको बताउँदै रामेछापमा सञ्चालन गरिएका स्वास्थ्य शिविर, घरदैलो कार्यक्रमजस्ता समुदाय केन्द्रित अभ्यासहरू अन्य स्वास्थ्य संस्थाले पनि अनुसरण गर्नुपर्ने उदाहरणीय पहल भएको उल्लेख गरिन । यद्यपि, भण्डारण व्यवस्थापनलगायत केही प्राविधिक पक्षमा अझै सुधार आवश्यक रहेको सुझाव पनि दिइन । स्वास्थ्य क्षेत्रमा दिगो सुधारका लागि सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको बताइन ।
उनले भनिन,“कार्यालय सहयोगीदेखि मन्त्रालयका सचिव र मन्त्रीसम्म केही गरौँ भन्ने प्रतिबद्धता र इच्छाशक्ति भए मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुन्छ ।”स्वास्थ्य निर्देशनालयले लागू गरेको न्यूनतम सेवा मापदण्ड कार्यक्रम स्वास्थ्य संस्थाहरूको सेवा गुणस्तर मापन र सुधारका लागि कार्यान्वयनमा ल्याइएको हो। पहिलो वर्षमै ७० प्रतिशत प्रगति हासिल गर्नु चिकित्सालयका लागि उत्साहजनक उपलब्धि मानिएको भन्दै आगामी वर्षमा थप सुधार गर्दै सेवा प्रभावकारिता बढाउने चिकित्सालय व्यवस्थापन समिति अध्यक्ष नवराज पथिकले बताए ।
