सुसंस्कृत राजनीति र समुन्नत रामेछापको सङ्कल्पसहित रास्वपाले सार्वजनिक गर्‍यो २१ बुँदे बाचापत्र

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो २१ बुँदे बाचापत्र सार्वजनिक गरेको छ...

सुसंस्कृत राजनीति र समुन्नत रामेछापको सङ्कल्पसहित रास्वपाले सार्वजनिक गर्‍यो २१ बुँदे बाचापत्र

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो २१ बुँदे बाचापत्र सार्वजनिक गरेको छ । 

शुक्रवार सदरमुकाम मन्थलीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा रामेछाप विकास केन्द्रित बाचापत्र सार्वजनिक गरिएको हो । रास्वपाबाट रामेछाप प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका डा. कृष्णहरि बुढाथोकी ले बाचापत्र वाचन गर्दै सुसंस्कृत राजनीतिलाई पहिलो प्राथमिकतामा राखिएको बताए । उनले सबल, समुन्नत र आत्मनिर्भर रामेछाप निर्माण नै आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गरे ।

सार्वजनिक बाचा पत्रमा रामेछाप केन्द्रित विकास नीति तथा कार्यक्रम तय गर्ने, नवयुवा र युवा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने, कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण गर्ने, उद्योग र उद्यमशीलताको विकास गर्ने योजना समेटिएको छ । साथै रामेछापलाई टुरिजम हबका रूपमा विकास गर्ने, जलस्रोतको बहुआयामिक उपयोग गर्ने, पूर्वाधार विकासलाई तीव्रता दिने तथा मानव पुँजी विकासमा लगानी गर्ने विषयहरू पनि समावेश छन् ।

सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि ‘डिजिटल रामेछाप’ निर्माण गर्ने, ‘ग्लोबल रामेछाप नेटवर्क’ स्थापना गर्ने, रामेछाप डेभलोपमेन्ट फन्ड सञ्चालन गर्ने, स्थानीय उत्पादनलाई पहिचान र बजार दिन ‘मेड इन रामेछाप’ अभियान चलाउने तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता बाचा पत्रमा गरिएको छ ।

त्यसै गरी समावेशी विकास, नतिजामुखी योजना, पालिका विशेष विकास नीति अवलम्बन गर्ने, जिल्ला स्वास्थ्य तथा विपद् सुरक्षा कोष स्थापना गर्ने र दिगो विकासका योजनासहित कुल २१ वटा स्पष्ट बाचा बाचा पत्रमा समेटिएका छन् ।