काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद ढुङ्गेलले चुनावी कार्यक्रमहरूका क्रममा देखिने व्यस्तता र सीमालाई स्वाभाविक रूपमा बुझ्दै सहकार्य, अनुशासन र संगठनात्मक एकतामा जोड दिन आग्रह गरेका छन्।
कोटेश्वरमा शनिवार आयोजित रामेछाप–काठमाडौँ सम्पर्क कमिटीको उपत्यका केन्द्रित वृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले पार्टी प्रवेश गरेका नयाँ सदस्यहरूलाई नीति, विचार र संगठनको ‘चेन’भित्र व्यवस्थित गर्न सम्बन्धित तहका कमिटीहरूलाई आग्रह गरे। उनले चुनावी सफलताको मुख्य आधार उम्मेदवारभन्दा पनि स्थानीय तहमा सक्रिय प्रतिनिधि र कार्यकर्ताको भूमिकामा रहने स्पष्ट पारे।
ढुङ्गेलले पार्टीप्रति विश्वास गरेर प्रवेश गरेका सुनापति, दोरम्बा र उमाकुण्ड क्षेत्रका नयाँ सदस्यहरूको स्वागत गर्दै उनीहरूको अपेक्षा र समुदायगत मागलाई पार्टीले सकारात्मक रूपमा सम्बोधन गर्ने बताए। “चुनावका बेला सबै ठाउँमा पुग्न सम्भव हुँदैन,” उनले भने, “जिल्लाको ठुलो भूगोल, धेरै वडा र बुथका कारण देखिने व्यावहारिक कठिनतालाई बुझिदिनु जरुरी छ।”
उनले पहरी बस्तीमा गएको पहिरोको सन्दर्भ उल्लेख गर्दै राहत, पुनस्र्थापना र दीर्घकालीन बसोबासको विषयमा पार्टी, पालिका र केन्द्रको समन्वयमा पहल भइरहेको जानकारी दिए। उनले राहत वितरण मात्र पर्याप्त नभई जोखिम मूल्याङ्कन, सुरक्षित स्थान छनोट र कानुनी प्रक्रिया अनुसार अस्थायी तथा स्थायी बसोबासको व्यवस्था अगाडि बढाइने प्रतिबद्धता जनाए।
ढुङ्गेलले काठमाडौँमा सम्पर्क मञ्चद्वारा आयोजित यो अन्तिम जिल्ला स्तरीय सभा भएको उल्लेख गर्दै अब पालिका स्तरीय अभियानलाई तीव्र बनाइने बताए। कार्यक्रममा एमालेका नेता–कार्यकर्ता, सम्पर्क कमिटीका पदाधिकारी तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
