काठमाडौँ । आइसिसी टी–२० विश्वकपको सुपर–८ चरणमा आज इंग्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।
मंगलबार बेलुकी सवा ७ बजे पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यस खेललाई सुपर–८ समूह ‘बी’को महत्वपूर्ण भेटका रूपमा हेरिएको छ। इंग्ल्याण्डले सुपर–८ मा दोस्रो खेल खेल्न लागेको हो। यसअघि उसले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुआत गरेको थियो।
पाकिस्तान भने सुपर–८ चरणको पहिलो खेल खेल्दैछ। समूह चरणमा न्युजिल्याण्डविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तानले अंक बाँडेको थियो। त्यसकारण आजको खेल जित्नैपर्ने दबाब पाकिस्तानमाथि छ।
आज इंग्ल्याण्डविरुद्ध जित हात पार्न सके पाकिस्तानको सेमिफाइनल सम्भावना बलियो बन्नेछ। इंग्ल्याण्ड विजयी भए भने उसको सेमिफाइनल यात्रा लगभग सुनिश्चित हुनेछ।
सुपर–८ को समूह ‘बी’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन्। समूहमा सबै टोलीले एक–अर्कासँग खेलेपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
