रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ भटौलीमा ७३ वर्षका शङ्ख माझी र ६९ वर्षीया विभा माझीको दैनिकी आज पनि उही छ । खेती किसानी, खोला र बर्खाको चिन्ता, र अधुरा आशा। फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा पनि यो निर्वाचनले उनीहरूको जीवनलाई खासै छोएको छैन। अब निर्वाचन आउन १२ दिन मात्रै बाकी छ । तर भोट हाल्ने दिन आइसक्दा पनि माझी दम्पतीमा निर्वाचनको खासै मतलब देखिँदैन ।
तीन सन्तानमध्ये दुई छोरा वैदेशिक रोजगारीमा छन्, छोरी आफ्नै घरधन्दामा व्यस्त। मतदानभन्दा ठुलो चिन्ता उनीहरूलाई बर्खामा खोलाले बगाउने घरको हो। “खोलामै बाँध बाँधेर संरक्षण गरिदिए सुरक्षित हुन्थ्यौँ,” विभा माझी भन्छिन्, “सुरक्षा दिनेलाई नै भोट दिने सोच हो।” तर अहिलेसम्म उनीहरूको ढोकामा कुनै उम्मेदवार पुगेका छैनन्। उनीहरूलाई भोट माग्न नआएकोमा कुनै गुनासो छैन, तर वर्षौँदेखिको एउटै माग नसुन्नेप्रति भने पीडा छ।
भटौलीमै ७५ वर्षीया धनमाया खड्का पनि उस्तै निराश देखिन्छ। ” यो भन्दा अगाडि के भयो, पछाडि के हुन्छ र हामीलाई उस्तै छ,” उनी भन्छिन्, “अरू ठाउँमा विकास देखिन्छ, हाम्रो गाउँमा केही देखिँदैन।” खानेपानीको समस्या अझै उस्तै छ। तामाकोशी नजिकै बगे पनि पानी पिउन गाग्री बोकेर हिँड्नुपर्छ। “ट्याङ्की बनाउँछौँ, पानी तान्छौँ भन्थे भन्ने मात्रै,” उनको गुनासो छ। उनका अनुसार गाउँमा तामाकोशीको पानी लिफ्ट मार्फत तानेर गाउँमा धारा लैजाने भन्दै काम सुरु भएको धेरै समय भइसक्यो । तर योजना अझै पुरा हुन सकेको छैन ।
स्थानीयहरूका अनुसार खानेपानी, सडक, शिक्षा जस्ता आधारभूत पूर्वाधार वर्षौँदेखिका उही एजेन्डा हुन्। तर बारम्बार दोहोरिने बाचा पूरा नहुँदा निराशा गहिरिँदै गएको मन्थली नगरपालिका–९ पुरानागाउँका राज श्रेष्ठ बताउँछन्। उनले भने,“पटक पटक भएका निर्वाचनमा जनतालाई धेरै सपना बाँडेकै हो । तर खासै परिवर्तन भएन । खानेपानी, सडक समस्या उस्तै जस्तै छन् । अन्य विषय त परको कुरा ।”
यस पटक रामेछापमा स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन्। उम्मेदवार मध्ये ३ जना स्वतन्त्र छन् । जिल्लामा १ लाख ८७ हजार ९५२ मतदाता छन्। निर्वाचनका लागि ९६ मतदान स्थल र २२८ मतदान केन्द्र तोकिएका छन्। निर्वाचन सफल बनाउन सबै निकाय सक्रिय छन्, जिल्ला निर्वाचन कार्यालयले पनि सुरक्षित रूपमा मतदान सम्पन्न गराउने तयारी गरिरहेको छ।
तर तथ्यांकभन्दा बाहिर एउटा यथार्थ छ । गाउँ–टोलमा चुनावी चहलपहल कम छ, मतदाताको उत्साह सुस्त छ। बर्खाले बगाउने डर, पिउने पानीको जोहो, रोजगारीको समस्या र अधुरा वाचा यी प्रश्नले मतदाताको मन भारी बनाइरहेका छन्। फागुन २१ नजिकिँदै गर्दा रामेछापका ग्रामीण बस्तीहरूमा चुनावी आवाजभन्दा मौन असन्तोष र निराशा नै बढी सुनिन्छ।
