उमाकुण्डमा फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने साझा प्रतिबद्धता

रामेछाप । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ उमाकुण्ड ग...

उमाकुण्डमा फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने साझा प्रतिबद्धता

रामेछाप । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ उमाकुण्ड गाउँपालिकामा सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेको छ ।

आइतबार सम्पन्न बैठक गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको अध्यक्षतामा बसेको हो। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

बैठकमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्ने, मतदातालाई निर्भीक र सहज वातावरणमा मतदान गर्ने अवस्था सुनिश्चित गर्ने तथा कुनै पनि किसिमका अवाञ्छित गतिविधि हुन नदिने विषयमा छलफल गरिएको छ। साथै निर्वाचनका क्रममा आपसी सहकार्य, समन्वय र सद्भाव कायम राख्दै लोकतान्त्रिक अभ्यासलाई मर्यादित ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

७ वटा वडाहरू रहेको उमाकुण्ड गाउँपालिकामा ११ वटा मतदान केन्द्र रहेका छन्। यस गाउँपालिकामा १६ हजार ९३४ जना मतदाता रहेका छन्। रामेछापको हिमाली पालिकाका रूपमा परिचित उमाकुण्डमा भौगोलिक चुनौतीलाई मध्यनजर गर्दै निर्वाचन व्यवस्थापन, सुरक्षा प्रबन्ध तथा मतदाता सहभागिता बढाउने विषयमा समेत बैठकमा छलफल भएको छ ।
बैठकले निर्वाचनलाई सफल, विश्वसनीय र उदाहरणीय बनाउन सबै राजनीतिक दल, सुरक्षा निकाय र सरोकारवाला पक्षको सक्रिय भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।