रामेछाप दुर्घटनाः मृत्यु हुनेको संख्या २ पुग्यो, मतदान अधिकृतको उपचारका क्रममा मृत्यु, ५ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

रामेछाप-रामेछाप–निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परी रामेछापमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित...

रामेछाप दुर्घटनाः मृत्यु हुनेको संख्या २ पुग्यो, मतदान अधिकृतको उपचारका क्रममा मृत्यु, ५ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

रामेछाप-रामेछाप–निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परी रामेछापमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल ल्याइएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रमुख डा. केशव धामीले जानकारी दिए।
मन्थली अस्पतालमा उपचारकै क्रममा ज्यान गुमाउने व्यक्ति डोरप्रसाद घिमिरे रहेको बताइएको छ। उनी रामेछाप नगरपालिका–२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत थिए। मृतक घिमिरे मन्थली नगरपालिका–७ स्थित रुद्राक्षेश्वर माध्यमिक विद्यालयका शिक्षकसमेत रहेको जनाइएको छ।
सोमबार अपरान्ह निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ना ४ ख ६७६८ नम्बरको निशान ट्रक रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको सिरुवारी भिरबाट खसेको थियो। दुर्घटनामा ६ जना घाइते भएका थिए भने ३ जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्।
यसअघि दुर्घटनास्थलमै नेपाल प्रहरीका असई पर्शुराम यादवको मृत्यु भएको भएको थियो।
रामेछाप नगरपालिका–२ स्थित शीतलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत रवीराज खड्काका अनुसार उनीसहित ३ जना गाडीबाट हाम फालेर बाँच्न सफल भएका हुन्। दुर्घटनामा घाइते भएका २ जना पुरुष र ३ जना महिलालाई उपचारका लागि नेपाली सेना को हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिए।