प्रतिनिधिसभा निर्वाचनः मौन अवधि सुरु, प्रचार–प्रसार पूर्णरूपमा निषेध

काठमाडौं । पर्सि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसारको समय गएराति १२ बजेदेखि औपचारिक...

प्रतिनिधिसभा निर्वाचनः मौन अवधि सुरु, प्रचार–प्रसार पूर्णरूपमा निषेध

काठमाडौं । पर्सि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसारको समय गएराति १२ बजेदेखि औपचारिक रूपमा समाप्त भएको हो। निर्वाचन आयोगले फागुन ४ गतेदेखि गएराति १२ बजेसम्मका लागि दल र उम्मेदवारलाई प्रचार–प्रसारको समय दिएको थियो।

मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्म लागू हुने मौन अवधिमा कुनै पनि किसिमको प्रचार–प्रसार, भाषण, भेला, छलफल, समीक्षा तथा चुनावलाई प्रभाव पार्ने गतिविधि गर्न नपाइने व्यवस्था छ।
आयोगका अनुसार मौन अवधिमा मत माग्ने, पोस्टर टाँस्ने, सामाजिक सञ्जालमार्फत मतदातालाई प्रभाव पार्ने सामग्री सेयर गर्ने, तथा चुनावी उद्देश्यले हिँडडुल गर्ने क्रियाकलाप पूर्ण रूपमा निषेध गरिएको छ।

मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गरी आर्थिक कारोबार गरिएको पाइएमा उम्मेदवारी खारेज हुनुका साथै ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाइने व्यवस्था रहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो।
उहाँका अनुसार मौन अवधिमा दल तथा उम्मेदवारका गतिविधि निगरानी गर्न घुम्ती टोली परिचालन गरिएको छ।

यस अवधिमा मतदान केन्द्र निर्माण, मतदाता लाइन व्यवस्थापन तथा शान्ति सुरक्षाको अवस्थाको मूल्याङ्कनसमेत गरिने आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनुभन्दा अघि मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका सबै चुनाव चिह्न तथा प्रचार सामग्री हटाइसक्नुपर्ने उल्लेख छ।

साथै एसएमएस, फेसबुक, भाइबरलगायत विद्युतीय तथा सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचारप्रसार गर्न पाइने छैन। उम्मेदवार वा राजनीतिक दलको प्रचार हुने गरी कुनै समाचार, सूचना प्रकाशन वा प्रसारण गर्नसमेत निषेध गरिएको आयोगले स्पष्ट पारेको छ।