रामेछापका सबै मतदान केन्द्रमा निर्वाचन समाग्री सहित कर्मचारी पुगे, सर्वदलीय बैठक लगायत तयारी सुरु

रामेछाप । फागुन २१ गते बिहिवार हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछाप जिल्लाका सबै मतदान स्थल तथा मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी...

रामेछापका सबै मतदान केन्द्रमा निर्वाचन समाग्री सहित कर्मचारी पुगे, सर्वदलीय बैठक लगायत तयारी सुरु

रामेछाप । फागुन २१ गते बिहिवार हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछाप जिल्लाका सबै मतदान स्थल तथा मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुगेका छन्।

प्रतिनिधि सभा निर्वाचन एक मात्रै रहेको रामेछापमा कूल ९६ मतदान स्थल र २२८ मतदान केन्द्र रहेका छन्।
यसअघि सोमबार रामेछाप नगरपालिका–२ को सिरुबारी तथा वडा नम्बर ३ साँघुटारस्थित वडा कार्यालय भवनका मतदान केन्द्रका लागि निर्वाचन सामग्री र कर्मचारी लिएर गएको निशान गाडी दुर्घटनामा परेपछि ती दुई मतदान स्थलका चार मतदान केन्द्र प्रभावित भएका थिए। तर मंगलबार दिउँसो नयाँ निर्वाचन सामग्रीसहित आवश्यक कर्मचारी पुगेपछि ती केन्द्रसमेत पूर्ण तयारी अवस्थामा पुगेका छन्।

जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार सबै मतदान स्थल र केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् र अब मतदान सञ्चालनमा कुनै अवरोध नहुने अवस्था बनेको छ। एनका अनुसार अहिले सबै मतदान स्थलहरुमा सर्वदलीय बैठक लगायत आवश्यक तयारी भइरहेको छ ।

२ नगरपालिका र ६ गाउँपालिकासहित ६४ वडा रहेको रामेछाप जिल्लामा कूल १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका छन्। २ हजार ४२२ जना अस्थायी मतदाता रहेका छन्। यस निर्वाचनमा तीन जना स्वतन्त्र उम्मेदवार र १४ राजनीतिक दलका उम्मेदवार गरी कूल १७ जना उम्मेदवार चुनावी मैदानमा छन्।

यस निर्वाचनका लागि जिल्लाभर मतदान अधिकृत २३० जना, सहायक मतदान अधिकृत २३० जना, सहायक कर्मचारी ६८४ जना र सहयोगी कर्मचारी १३० जना गरी कूल १ हजार ३७४ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । जिल्लाभर ४१ वटा मतदान स्थललाई अति संवेदनशील, ३५ वटा मतदान स्थललाई संवेदनशील र २० वटा मतदान स्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको छ। निर्वाचनलाई शान्त, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।