वन्यजन्तु द्वन्द्वका कारण बबई–१ र ७ मा अझै सुरु भएन मतदान

दाङ, २१ फागुन । दाङको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत बबई गाउँपालिका–१ र ७ का केही मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन। बबई गाउँपालिका–१ का वडाध्यक्ष...

वन्यजन्तु द्वन्द्वका कारण बबई–१ र ७ मा अझै सुरु भएन मतदान

दाङ, २१ फागुन । दाङको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत बबई गाउँपालिका–१ र ७ का केही मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन।

बबई गाउँपालिका–१ का वडाध्यक्ष प्रेमबहादुर डाँगीका अनुसार वडा नम्बर १ का गंगटे र भाङोबारी मतदान केन्द्रमा भने मतदान सुरु भइसकेको छ। तर, सोही वडाको जिला मतदान केन्द्रमा भने अहिलेसम्म मतदान सुरु हुन सकेको छैन।

निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीका अनुसार जिल्ला मतदान केन्द्रमा ८८२ जना मतदाता रहेका छन्। त्यस्तै बबई गाउँपालिका–७ को मलै मतदान केन्द्रमा पनि हालसम्म मतदान सुरु हुन नसकेको उनले जानकारी दिए। उक्त केन्द्रमा ५३० जना मतदाता छन्।

निर्वाचन अधिकृत सिंजालीका अनुसार मतदान सुरु गराउन स्थानीय दलका प्रतिनिधि र सर्वसाधारणसँग छलफल तथा सम्झाइबुझाइ गर्ने प्रयास भइरहेको छ। “अहिले पनि छलफल जारी छ,” उनले भने, “हाम्रो तर्फबाट सबै तयारी पूरा भइसकेको छ। कर्मचारीहरू मतपेटिका लिएर मतदान सुरु हुने प्रतीक्षामा छन्।”

उक्त क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज को मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले वन्यजन्तु र स्थानीयबीचको द्वन्द्व बढ्दै गएको छ। यही समस्याका कारण स्थानीयले बस्ती स्थानान्तरण (पुनर्वास) को माग गर्दै आएका छन्।

स्थानीय मतदाताले आफूहरूलाई वन्यजन्तुबाट सुरक्षित बनाउने वा अन्यत्र स्थानान्तरणको पहल गर्ने प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र मत दिने, अन्यथा मतदानमा सहभागी नहुने चेतावनी दिएका छन्।

यद्यपि स्थानीय चन्द्रबहादुर राँगु मगरले भने आफूहरू मतदान केन्द्रतर्फ जाँदै गरेको र सबैलाई मतदानमा सहभागी हुन आग्रह गर्ने बताए।

वन्यजन्तु प्रभावित स्थानीयहरूले ‘नो–भोट’ अभियान चलाउँदै आएका छन्। यसैबीच दीपक गिरी ले स्थानीय मतदातासँग भेट गर्दै निर्वाचित भए सदनमार्फत बस्ती स्थानान्तरणको मुद्दा उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

केही स्थानीयले भने समानुपातिकतर्फको मतदान गर्न सकिने धारणा पनि राखेका छन्।