मतदान सकिएपछि धमाधम मतपेटिका संकलन, मतगणना निर्वाचन क्षेत्रमै हुने

काठमाडौं, फागुन २१ — प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै देशभरका मतदानस्थलबाट मतपेटिका संकलन गर्ने कार्य जारी रहेको छ। मतदान समाप्त भएपछि मतपेटिकालाई सिल...

मतदान सकिएपछि धमाधम मतपेटिका संकलन, मतगणना निर्वाचन क्षेत्रमै हुने

काठमाडौं, फागुन २१ — प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै देशभरका मतदानस्थलबाट मतपेटिका संकलन गर्ने कार्य जारी रहेको छ।

मतदान समाप्त भएपछि मतपेटिकालाई सिलबन्दी गरी मतदान केन्द्रबाट उठाएर मतगणनास्थलतर्फ पठाउने काम भइरहेको छ। संकलित मतपेटिका सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा लगिनेछ।

निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्रअन्तर्गतका सबै मतदानस्थलबाट मतपेटिका संकलन भई निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि सुरु गरिनेछ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतगणना निर्वाचन अधिकृतको कार्यालयमै हुने व्यवस्था गरिएको छ।

मतगणना सुरु गर्नुअघि जिल्ला तथा निर्वाचन क्षेत्रस्तरमा सर्वदलीय बैठक बस्नेछ। आयोगले प्रत्यक्षतर्फको मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि मात्रै समानुपातिकतर्फको मतगणना सुरु गरिने आयोगले जनाएको छ।