रामेछाप–रामेछापमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा उज्यालो नेपाल पार्टीले सुरुवाती अग्रता लिएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको गृह गाउँपालिका सुनापति गाउँपालिका–४ को मतगणनामा सो पार्टीका उम्मेदवार दीपबहादुर योञ्जनले अग्रता लिएका हुन् ।
सुनापति गाउँपालिका–४ को १ हजार ४४० मत गणना हुँदा उज्यालो नेपाल पार्टीका उम्मेदवार योञ्जनले ६४२ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार श्यामकुमार श्रेष्ठले ३९६ मत पाएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १४१ मत प्राप्त गरेका छन् । यो वडा नेपाली काँग्रेसका उम्मेदवार खड्काको पनि वडा हो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरि बुढाथोकीले ६३ मत पाएका छन् । श्रम संस्कृति पार्टीका ढालबहादुर खपाङगी मगरले १० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोरे बहादुर तामाङले ४ मत र नेपाल मजदुर किसान पार्टीकी केशरी श्रेष्ठले १ मत प्राप्त गरेकी छन् । यस मतदान केन्द्रमा मतदानपछि लगाइएको शील तथा मुचुल्कामा १ हजार ४५१ मत खसेको उल्लेख भए पनि गणना गर्दा १ हजार ४४० मत मात्र भेटिएपछि करिब एक घण्टाभन्दा बढी समय विवाद भएको थियो । पछि गणना भएको मतलाई नै मान्ने सहमति भएपछि मतगणना अगाडि बढाइएको हो ।
रामेछापमा मतगणना सुस्त गतिमा भइरहेको भन्दै विभिन्न राजनीतिक दल तथा प्रतिनिधिहरूले गुनासो गरेका छन् । दिउँसो ३ बजेदेखि सुरु भएको मतगणनामा साँझ सवा ६ बजेसम्म जम्मा १ हजार ४४० मत मात्रै गणना भएको छ । अहिले सुनापति गाउँपालिका–२ स्थित पानी ट्याङ्की बुथमा खसेको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त बुथमा १ हजार ४६ मत खसेको छ ।
