पश्चिम एसियामा नेपाली सुरक्षित, परराष्ट्र मन्त्रालयद्वारा आपतकालीन टिम गठन

काठमाडौं। पश्चिम एसियाका विभिन्न देशमा कार्यरत तथा बसोबास गर्दै आएका नेपाली नागरिक हालसम्म सुरक्षित रहेको सरकारले जनाएको छ। परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेल...

पश्चिम एसियामा नेपाली सुरक्षित, परराष्ट्र मन्त्रालयद्वारा आपतकालीन टिम गठन

काठमाडौं। पश्चिम एसियाका विभिन्न देशमा कार्यरत तथा बसोबास गर्दै आएका नेपाली नागरिक हालसम्म सुरक्षित रहेको सरकारले जनाएको छ। परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, ओमान, बहराइनलगायत मुलुकमा रहेका नेपालीहरू सुरक्षित अवस्थामा रहेको स्पष्ट पारेको हो।

मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख सहसचिव रामकाजी खड्काका अनुसार सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा नियोगहरूले पठाएको प्रतिवेदनका आधारमा त्यहाँको सुरक्षा अवस्था निरन्तर अनुगमन भइरहेको छ। उनले पश्चिम एसिया क्षेत्र नेपालका लागि कूटनीतिक तथा श्रम आप्रवासनका हिसाबले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै अधिकांश नेपाली हालसम्म सुरक्षित रहेको जानकारी दिए।

इमर्जेन्सी रेस्पोन्स टिम गठन

सम्भावित जोखिमलाई मध्यनजर गर्दै परराष्ट्रमन्त्रीस्तरको निर्णयबाट परराष्ट्र सचिवको संयोजकत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरिएको छ। उक्त संयन्त्रमा गृह, अर्थ, कानुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सुलर सेवा विभाग तथा नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत निकायका प्रतिनिधि सहभागी छन्।

पश्चिम एसियास्थित तेल अवीव, दोहा, रियाद, अबुधाबी, मनामा, कुवेत सिटी, मस्कट, कायरो तथा जेद्दा र दुबईस्थित नेपाली नियोगहरूलाई नियमित रूपमा ‘सिचुएसन एनालाइसिस रिपोर्ट’ पठाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

इजरायलमा नेपाली सुरक्षित

इजरायलस्थित नेपाली राजदूतावासका अनुसार हालसम्म त्यहाँ रहेका सबै नेपाली सुरक्षित छन्। पछिल्लो समय नयाँ आक्रमण नभएको र अवस्था तुलनात्मक रूपमा शान्त रहेको जानकारी प्राप्त भएको छ। तेल अवीव र जेरुसेलम नजिक बेथ सेमेस क्षेत्रमा ११ जनाको मृत्यु र ५८ जना घाइते भएको विवरण आए पनि नेपाली नागरिक प्रभावित नभएको मन्त्रालयले स्पष्ट पारेको छ।

कतारमा ट्रान्जिट यात्रु होटलमा

दोहास्थित नेपाली राजदूतावासका अनुसार कतारको हवाई क्षेत्र अस्थायी रूपमा बन्द हुँदा ट्रान्जिटमा रहेका नेपाली यात्रुहरूलाई सम्बन्धित एयरलाइन्सले होटलमा राखेको छ। दूतावासले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

साउदी अरेबिया र यूएईको अवस्था

रियादस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरेबियाको रास तनुरा रिफाइनरीमा ड्रोन आक्रमणपछि सानो आगलागी भएको थियो, जुन नियन्त्रणमा आइसकेको छ। रियादस्थित कूटनीतिक क्षेत्रमा अमेरिकी दूतावास परिसरमा समेत दुई ड्रोन खसेर सामान्य क्षति पुगेको जनाइएको छ। विदेशी नागरिकलाई लक्षित गरी कुनै विशेष एड्भाइजरी जारी नभएको र जनजीवन सामान्य रहेको प्रतिवेदनमा उल्लेख छ।

अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार यूएईमा आवासीय क्षेत्रसम्म आक्रमण भएको घटनामा एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको पुष्टि भएको छ। गोरखाका दिवस श्रेष्ठको शव स्वदेश फर्काउने प्रक्रिया अवस्था सहज भएपछि अघि बढाइने मन्त्रालयले जनाएको छ। दुबईस्थित महावाणिज्य दूतावासका अनुसार एयर अरेबिया र फ्लाई दुबईमार्फत ट्रान्जिटमा रहेका करिब १०० नेपालीलाई होटलमा राखी समन्वय भइरहेको छ।

कुवेत, ओमान र अन्य देश

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार कुवेत र इराकमा मिसाइल तथा ड्रोन आक्रमण भएका छन्। अर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत करिब १५० नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ भने ट्रान्जिटमार्फत गएका करिब ९० नेपाली होटलमा रहेका छन्। हालसम्म कुनै नेपाली हताहत नभएको जानकारी दिइएको छ।

मस्कटस्थित नेपाली राजदूतावासका अनुसार ओमानमा प्रत्यक्ष ठूलो प्रभाव नपरे पनि सतर्कता अपनाइएको छ। जोर्डन र लेबनानमा रहेका नेपालीहरू पनि सुरक्षित रहेको जानकारी कायरोस्थित नेपाली दूतावासले दिएको छ।

अनलाइन रजिस्ट्रेसनको व्यवस्था

संभावित उद्धार वा आपत्कालीन सहयोगका लागि कन्सुलर सेवा विभागले अनलाइन रजिस्ट्रेसन प्लेटफर्म सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ। आवश्यकता परे स्वदेश फिर्ती तथा अन्य सहयोगका लागि सरकार समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको सहसचिव खड्काले बताए।