काठमाडौं, फागुन २६ — बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले बिक्रेताहरूलाई बिक्री–वितरणको अनिवार्य विवरण राख्न निर्देशन दिएको छ। निगमका अनुसार ग्यास आयात र आपूर्तिमा कुनै समस्या नभए पनि बिक्रेताहरूको अनियमितता तथा उपभोक्ताको अत्यधिक सञ्चय गर्ने प्रवृत्तिका कारण बजारमा कृत्रिम अभाव देखिएको हो।
निगमका प्रवक्ता मनोज कुमार ठाकुरले हाल भारतबाट मागअनुसार ग्यास आयात भइरहेको र उद्योगहरूले पनि पर्याप्त परिमाणमा ग्यास बजारमा पठाइरहेको जानकारी दिए। तर, उपभोक्ताले ग्यास सहज रूपमा नपाएको गुनासो बढेपछि आपूर्ति प्रणालीमा देखिएको समस्या समाधानका लागि निगम सक्रिय भएको उनले बताए।
उनका अनुसार अब बिक्रेताहरूले उद्योगबाट प्राप्त गरेको ग्यासको परिमाण र उपभोक्तालाई बिक्री गरेको विवरण पारदर्शी रूपमा राख्नुपर्नेछ। “उद्योगहरूले बिक्रेतालाई पठाएको ग्यासको तथ्याङ्क दिएका छन्, तर उपभोक्ताबाट भने ग्यास नपाएको गुनासो आइरहेको छ। कृत्रिम अभाव हटाउन बिक्रेतालाई खरिद र बिक्रीको स्पष्ट रेकर्ड राख्न निर्देशन दिएका छौँ,” ठाकुरले भने।
निगमले अनावश्यक रूपमा ग्यास सञ्चय गर्ने प्रवृत्तिले पनि समस्या बढाएको जनाएको छ। केही उपभोक्ताले एकै पटक चार–पाँच वटा सिलिन्डर भरेर राख्दा तत्काल आवश्यक परेका सर्वसाधारणलाई ग्यास पाउन कठिन भइरहेको निगमको भनाइ छ।
दैनिक करिब एक लाख सिलिन्डर ग्यासको माग रहेकोमा उद्योगहरूले सोही अनुपातमा बिक्रेतालाई आपूर्ति गरिरहेका छन्। तर, बजारमा अझै अभाव देखिएकाले उद्योगबाट पठाइएको र बिक्रेताले वितरण गरेको तथ्याङ्क मिलान गरेर कृत्रिम अभाव हटाउने तयारी निगमले गरेको छ।
ग्यास लुकाउने वा कालोबजारी गर्ने गतिविधिको अनुगमन गर्ने मुख्य जिम्मेवारी वाणिज्य विभागको भएकाले बजारमा नियमित र प्रभावकारी अनुगमन आवश्यक रहेको पनि निगमले जनाएको छ।
