स्ट्रेट होर्मुजमा अमेरिकी हमला: माइन राख्ने इरानका १६ डुंगा नष्ट

काठमाडौं, २७ फागुन। अमेरिका–इजरायल र इरानबीच जारी युद्ध ११ औं दिनमा पुगेको छ। पछिल्लो घटनाक्रममा अमेरिकाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा माइन बिछ्याउन प्रय...

स्ट्रेट होर्मुजमा अमेरिकी हमला: माइन राख्ने इरानका १६ डुंगा नष्ट

काठमाडौं, २७ फागुन। अमेरिका–इजरायल र इरानबीच जारी युद्ध ११ औं दिनमा पुगेको छ। पछिल्लो घटनाक्रममा अमेरिकाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा माइन बिछ्याउन प्रयोग गरिएका इरानका १६ वटा डुंगामाथि आक्रमण गरी पूर्ण रूपमा नष्ट गरेको दाबी गरेको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समार्फत् आक्रमणको भिडियो सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस्ता सैन्य कारबाही आगामी दिनहरूमा समेत जारी रहने बताएका छन्।

के हो स्ट्रेट अफ होर्मुज ?

स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण र रणनीतिक रूपमा संवेदनशील समुद्री मार्गमध्ये एक हो। यो साँघुरो जलमार्गले पर्शियन खाडीलाई ओमानको खाडी हुँदै अरब सागरसँग जोड्छ।

यसको उत्तरतर्फ इरान रहेको छ भने दक्षिणतर्फ संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानको मुसान्डम प्रायद्वीप पर्दछ। विश्वमा खपत हुने कुल पेट्रोलियम पदार्थको करिब २० देखि २५ प्रतिशत यही मार्ग हुँदै ढुवानी हुने भएकाले यसलाई विश्वको ‘ऊर्जाको लाइफलाइन’ समेत मानिन्छ।

साउदी अरब, इराक, यूएई, कुवेत र कतार जस्ता प्रमुख तेल तथा ग्यास उत्पादक राष्ट्रहरूले निर्यातका लागि यही मार्ग प्रयोग गर्छन्।

यो जलमार्ग अत्यन्त साँघुरो छ। सबैभन्दा साँघुरो स्थानमा यसको चौडाइ करिब २१ माइल (३३ किलोमिटर) मात्र छ भने जहाज आवतजावत गर्ने मुख्य लेन भने करिब २–२ माइल मात्र चौडा छ।

भौगोलिक अवस्थाका कारण यस क्षेत्रमा इरानको प्रभाव बलियो मानिन्छ। इरान र अमेरिका तथा पश्चिमी देशहरूबीच तनाव बढ्दा इरानले पटक–पटक यो मार्ग बन्द गरिदिने चेतावनी दिँदै आएको छ। यदि यो मार्ग केही समयका लागि मात्र अवरुद्ध भए पनि विश्वभर तेलको मूल्यमा तीव्र वृद्धि हुनसक्ने र विश्व अर्थतन्त्रमा ठूलो असर पर्ने विश्लेषकहरू बताउँछन्।