सर्लाही, ३० फागुन — सर्लाहीको बरहथवामा स्कारपियो गाडीले जन्तीमाथि ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
शुक्रबार साँझ बरहथवा नगरपालिका–१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डि एल ९ सि जेड ०७७७ नम्बरको स्कारपियोले बिहेमा आएका जन्तीहरूलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
Advertisementदुर्घटनामा घाइते भएका बरहथवा नगरपालिका–९ निवासी करिब ५० वर्षीय नारायण जर्गा मगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई शुक्रबार मृत घोषणा गरेका हुन्।
दुर्घटनामा रौतहट दोस्तिया पिपरिया निवासी ७० वर्षीय कमल पटेल, रौतहट गढीमाई नगरपालिका–११ निवासी विकास पटेलकी श्रीमती करिब ४५ वर्षीया बन्धना पटेल, बरहथवा–१० निवासी १८ वर्षीय रुपेश मण्डल, १५ वर्षीया प्रतिमाकुमारी पटेल, १९ वर्षीय दिलीप राय, बरहथवा–७ निवासी २३ वर्षीय चन्दन पासवान, बरहथवा–१० निवासी १२ वर्षीया दीपिका जैसवाल, २० वर्षीय रामजी राय, २३ वर्षीय मुकेश राउत, ५५ वर्षीय रामनारायण ठाकुर र उनकी श्रीमती ४५ वर्षीया गुलाबकुमारी मण्डल घाइते भएका छन्।
Advertisementघाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको बरहथवास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि स्कारपियो चालक बरहथवा नगरपालिका–१२ लौकठ निवासी करिब ४० वर्षीय नरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।
Advertisement